मार्टिन लुथरद्वारा लिखित ९५ थेसिस

प्रोटेस्टेन्ट मण्डली इतिहासमा अक्टोबर ३१, २०१७ अति नै महत्त्वपूर्ण तिथि हो। अक्टोबर ३१, १५१७को दिन जर्मनीको ख्रीष्टियान सन्यासी मार्टिन लुथरले ९५ बुँदे वक्तव्य (थेसिस) लाई क्यासल मण्डलीको प्रवेशद्वारमा टाँगेर ख्रीष्टको मण्डलीको पक्षमा वकालत गरे। उक्त वक्तव्यमा रोमन क्याथोलिक मण्डलीलाई बिटुलो पार्ने पोप र अन्य धर्माधिकारीहरूको भण्डाफोर गरिएको छ। ती वक्तव्यहरूलाई यहाँ नेपालीकरण गरिएको छ। भाषाले साथ दिएसम्म अक्षरशः र अन्य ठाउँमा भावार्थमा अनुवाद गरिएको छ।

बुँदा नं १

हाम्रो प्रभु र मालिक येशू ख्रीष्टले ‘पश्चात्ताप गर’ (मत्ती ४,१७) भन्नुहुँदा विश्वासीहरूको सम्पूर्ण जीवन पश्चात्तापसँग आबद्ध भएको देख्न चाहनुहुन्छ।

बुँदा नं २

पश्चात्ताप शब्दलाई पाप–क्षमाको संस्कारको रूपमा पुरोहितको सन्तुष्टिको लागि गरिएको स्वीकार हो भन्न मिल्दैन।

बुँदा नं ३

यद्यपि पश्चात्ताप भित्री हृदयमा मात्र सीमित रहँदैन, शरीरलाई विभिन्न तरिकाले सधाएर बाह्य परिवर्तन नआएसम्म भित्री पश्चात्तापको कुनै अर्थ छैन।

बुँदा नं ४

पापको दण्ड तबसम्म रहिरहन्छ जबसम्म स्वर्गको राज्यमा प्रवेश गर्नुअघिसम्म आफैलाई इन्कार (जुनचाहिँ साँचो पश्चात्ताप हो) गर्दैन।

बुँदा नं ५

आफ्नै अधिकार वा मण्डलीका विधानहरूद्वारा लादिएका दण्डहरू बाहेक पोपले कसैको पापको दण्ड न मेटाउने चाहना गर्नसक्छ, न त ऊसँग मेटाउन सक्ने योग्यता नै छ।

बुँदा नं ६

परमेश्वरले पाप क्षमा गर्नुभएको घोषणा गर्नु र त्यसलाई प्रदर्शन गर्नुबाहेक पोपले कसैको पनि दोष मेटाउन सक्दैन, अर्थात् आफ्नै एकाधिकारमा उसले त्यो गर्नसक्छ। तर पाप–क्षमा गर्ने पोपको एकाधिकारलाई बेवास्ता गर्ने हो भने उसले गरेको पापहरूको दोष पनि अक्षम्य भइरहन्छ।

बुँदा नं ७: मानिसले आफूलाई सम्पूर्ण रूपले उहाँ र पूजाहारीहरूप्रति समर्पित गरेर नम्र नपारेसम्म परमेश्वरले कसैको पनि दोष मेटाउनुहुन्न।

बुँदा नं ८: पश्चात्ताप गर्नु पर्ने आज्ञा जीवितहरूको लागि मात्र लागू हुन्छ र मण्डलीकै विधानअनुसार कुरा गर्ने हो भने मृतकहरूमाथि कुनै पनि नियम लादिनु हुँदैन।

बुँदा नं ९: यसकारण पोपको माध्यमबाट पवित्र आत्मा तब मात्र हामीप्रति दयालु बन्नुहुन्छ जब पोपले मृतकहरूप्रति लादेका उर्दीहरूलाई सधैंको लागि खारेज गर्दछ।                         

बुँदा नं १०: ती पूजाहारीहरू मूर्ख र दुष्ट हुन् जसले मृतकहरूका निम्ति मण्डलीको दण्डाज्ञालाई पर्गटरी (स्वर्ग र नरकको साँध) सम्म लम्ब्याइदिन्छन्।

बुँदा नं ११: पर्गटरीमा पुगिसकेका मृतकहरूको दण्डाज्ञालाई टार्ने मण्डलीको दण्डाज्ञाको सामाचाहिँ बिशपहरू सुतेको बेला छरिएका हुन् (मत्ती १३:२५)।

बुँदा नं १२: पुरानो समयमा पूजाहारीहरूको दण्डाज्ञा मानिस मर्नुअघि साँचो पश्चात्ताप गरेको प्रमाणस्वरूप लादिन्थ्यो, तर मरेपछि होइन।

बुँदा नं १३: जहाँसम्म पूजाहारीहरूको नियमको कुरो छ, मृतकहरू मृत्युपछि सबै दण्डहरूदेखि मुक्त हुन्छन् र ती सबैबाट मुक्त हुने अधिकार पनि पाउँछन्।

बुँदा नं १४: मृतकहरूको तर्फबाट अपूर्ण भक्ति वा प्रेमले निश्चय नै ठूलो डर पैदा गर्छ, र थोरै प्रेमले धेरै ठूलो डर पैदा गर्छ।

बुँदा नं १५: यो डर वा त्रास आफै पनि पर्गटरीमा पाइने दण्डको रूपमा पर्याप्त छ, किनभने यो डर भयानक त्रासको अति नजिक छ।

बुँदा नं १६: नरक, पर्गटरी र स्वर्गबीचको अन्तर पनि भयानक त्रास, डर र मुक्तिको निश्चयताबीच देखिने अन्तरजस्तै देखिन्छ।

बुँदा नं १७: यस्तो लाग्दछ,  मानौं पर्गटरीमा पुगेको आत्मालाई पक्कै पनि डर घट्नुपर्ने र प्रेम बढ्नुपर्ने हो।

बुँदा नं १८: साथै यसलाई कुनै तर्कना–विद्या वा धर्मशास्त्रले प्रमाणित गर्न सक्दैन कि पर्गटरीमा पुगेको आत्माले आफ्नो फाइदाको लागि केही गर्न सक्दैन, अर्थात् प्रेममा बढ्न सक्दैन।

बुँदा नं १९: हामी तिनीहरूको बारेमा निश्चित भए पनि पर्गटरीमा भएको आत्माहरू सबै वा केहीलाई आफ्नो मुक्तिको बारेमा निश्चित हुन्छन् भनेर प्रमाणित गर्न सकिँदैन।

बुँदा नं २०: यसकारण पोपले ‘सबै दोषहरू मेटिएको घोषणा’ गर्ने बेला ‘सबै दोषहरू’ होइनन् तर उनले लादेका दोषहरूबाट मात्र मुक्त भएको घोषणा गर्न सक्छन्।

बुँदा नं २१: यसकारण मण्डलीमा बुझाइने पापमोचन पत्रद्वारा मानिस हरेक दण्डबाट मुक्त भइन्छ र बचाइन्छ भनी प्रचार गर्ने पापमोचन पत्रका प्रचारकहरू गलत हुन्।

बुँदा नं २२: वास्तवमा मण्डलीको विधानअनुसार, पोपले पर्गटरीमा भएका आत्माहरूको दण्ड मेटाउन सक्दैन, बरु उनीहरूले संसारमा छँदा नै त्यसको मोल तिर्नुपर्ने हुन्छ।

बुँदा नं २३: सबै पापको दण्डबाट कसैलाई क्षमा दिन सकिने भए निश्चय नै त्यस्ता सिद्ध व्यक्तिलाई मात्र दिन सकिन्थ्यो, जो अति थोरै छन्।

बुँदा नं २४: यसकारण धेरै मानिसहरू पापको दण्डबाट छुटकारा पाउने निराधार र ठूलो हल्लासहितको प्रतिज्ञा गरेर ठगिएका छन्।

बुँदा नं २५: आफ्नो मण्डलीको सङ्गठन वा परिषद्मा रहेका बिशप वा अन्य अधिकारीहरूको निश्चित अधिकार भएजस्तै पर्गटरीमाथि पोपको अधिकार पनि त्यस्तै हो।

बुँदा नं २६: पर्गटरीमा भएका आत्माहरूलाई छुटकारा दिएर पोपले असल काम गर्छ तर ऊसँग हुँदै नभएको चाबीको शक्तिबाट होइन, बरु तिनीहरूको लागि प्रार्थना गरेर सो काम गर्नसक्छ।

बुँदा नं २७: मृतकका लागि दान दिएको दानको भण्डारमा खस्दा निस्कने आवाज सुन्नेबित्तिकै पर्गटरीबाट मृतकको आत्मा (स्वर्गतिर) उडेर जान्छ भनेर तिनीहरूले गर्ने प्रचार मानव सिद्धान्त मात्र हो।

बुँदा नं २८: यो पक्का छ कि जब दानको भण्डारमा पैसाको आवाज बज्छ तब लोभ र धनप्रतिको लालच बढ्छ, तर जब मण्डलीले अर्जबिन्ती गर्छ तब परिणामचाहिँ परमेश्वरको हातमा मात्र रहन्छ।

बुँदा नं २९: पर्गटरीमा अड्केका सबै आत्माहरू छुटकारा पाउन चाहन्छन् भन्ने कुरो कसले जान्दछ किनकि किंवदन्तीमा उल्लेख गरेअनुसार सन्त सेभेरिनस र पास्कलको मामिलामा त्यसो नभएको अपवाद हामीसँग छ।

बुँदा नं ३०: आफ्नो पश्चात्ताप बारे कोही पक्का हुनसक्दैन भने पूर्ण दोषमुक्त हुने कुरा त परै जाओस्।

बुँदा नं ३१: पापमोचन पत्र जसले किन्छ त्यस व्यक्तिसँग पश्चात्तापी हृदय हुनु असम्भव हुन्छ, भएछ भने पनि त्यस्तो मानिस अति थोरै छन्।

बुँदा नं ३२: पापमोचन पत्र किनेको कारण आफ्नो मुक्ति निश्चित छ भनेर ढुक्क रहनेहरू आफ्ना शिक्षकहरूसँगै नरकमा पर्नेछन्।

बुँदा नं ३३: परमेश्वरसँग मानिसको मिलाप भएको निश्चयतासहित पोपले दिने क्षमा परमेश्वरको असीम उपहार हो भन्ने भ्रमविरुद्ध मानिसहरू अझ चनाखो हुनुपर्दछ।

बुँदा नं ३४: किनकि पापमोचन पत्रबाट मिल्ने अनुग्रहले मानिसद्वारा स्थापित पाप–क्षमाको कर्मकाण्डबाट पाइने सन्तुष्टिसँग मात्र सरोकार राख्छ।

बुँदा नं ३५: पर्गटरीमा अड्केका आत्माहरूलाई स्वर्ग पुर्याउनलाई पापमोचन पत्र किन्नेहरू वा पश्चात्ताप गर्ने मौकाको खरिद गर्नेहरूलाई पश्चात्तापको आवश्यकता छैन भनेर प्रचार गर्नु ख्रीष्टियान सिद्धान्त होइन।     

बुँदा नं ३६: साँचो पश्चात्ताप गर्ने एउटा ख्रीष्टियानसँग पापमोचन पत्रविना पापको दण्ड र दोषबाट मुक्त हुने अधिकार छ।

बुँदा नं ३७: पापमोचन पत्रविना नै हरेक साँचो विश्वासी, चाहे जीवित वा मृत, ख्रीष्ट र मण्डलीमा सम्पूर्ण आशिष्मा भाग लिनसक्छ किनभने आशिष् र अनुग्रह दिने पोप या उसको पापमोचन पत्र होइन तर   परमेश्वर हुनुहुन्छ।

बुँदा नं ३८: तर जे होस्, पूजाहारीद्वारा दिइने पाप क्षमा र आशिष्लाई कुनै पनि हालतमा अपहेलना गर्नुहुँदैन किनभने तिनीहरू (मैले छैटौं बुँदामा भनेजस्तै) स्वर्गीय क्षमालाई दर्शाउने घोषणा हुन्।

बुँदा नं ३९: पापमोचन पत्र प्राप्त गर्ने मानिसको प्रशंसा गर्नु र साँचो पश्चात्तापको आवश्यक छ भन्ने सम्बन्धमा ठोकुवा गर्नको लागि तालिमप्राप्त ईश्वरशास्त्रीहरूलाई समेत गाह्रो छ।

बुँदा नं ४०: एउटा पश्चात्तापी ख्रीष्टियानले साँचो रूपमा उसको आफ्नो पापको दण्ड तिर्न खोजी र चाहना गर्छ, तर पनि पापमोचन पत्रको प्रशस्तताले दण्डबाट मुक्त पारेको भान पार्छ र मानिसलाई पापको वास्तविक दण्डप्रति घृणा जगाइदिन्छ — जे होस् यसले पापको वास्तविक दण्डलाई घृणा गर्ने अवसर सृजना गर्छ।

बुँदा नं ४१: पोपहरूले बेच्ने पापमोचन पत्रको बारेमा होसियारसाथ प्रचार गर्नुपर्छ नत्र तीचाहिँ प्रेमबाट गरिने असल कार्यभन्दा झन् बढी रुचिलाग्ने भ्रममा मानिसहरू पर्नेछन्।     

बुँदा नं ४२: ख्रीष्टियानहरूलाई सिकाइनुपर्दछ कि पापमोचन पत्र किन्नुचाहिँ कल्याणकारी कामहरूसँग कुनै हालतमा तुलना गर्न मिल्दैन भन्ने कुरो पोपले सोच्न सक्दैन।

बुँदा नं ४३: ख्रीष्टियानहरूलाई सिकाइनुपर्दछ कि जसले गरीबहरूलाई दिन्छ वा खाँचोमा परेकाहरूलाई सहायता दिन्छ उसले पापमोचन पत्र किन्नेहरूले भन्दा उत्तम काम गरेको ठहरिन्छ।

बुँदा नं ४४: किनभने प्रेमका कामहरूले प्रेम बढाउँछ जसबाट मानिस झन् असल बन्दछ। पापमोचन पत्र किनेको कारण मानिस असल बन्दैन बरु उसले दण्डहरूबाट छुटकारा पाएको आभास मात्र गर्छ।

बुँदा नं ४५: ख्रीष्टियानहरूलाई सिकाइनुपर्दछ कि जसले खाँचोमा परेको एउटा मानिसलाई देखेर पनि ऊदेखि तर्केर जान्छ, र पापमोचन पत्रको लागि पैसा तिर्छ भने उसले पूजाहारीहरूको पापमोचन पत्र होइन, बरु परमेश्वरको क्रोध किनेको ठहरिन्छ।

बुँदा नं ४६: ख्रीष्टियानहरूलाई सिकाइनुपर्दछ कि उनीहरूसँग आफूलाई चाहिनेभन्दा बढी नभएसम्म तिनीहरूले आफ्नो परिवारको निम्ति जोहो गर्नुपर्छ र कुनै पनि हालतमा पापमोचन पत्र किन्नको लागि पैसा फाल्नु हुँदैन।

बुँदा नं ४७: ख्रीष्टियानहरूलाई सिकाइनुपर्दछ कि पापमोचन पत्र किन्ने कुरो आफ्नो इच्छामा भर पर्ने कुरो हो, पोपले आज्ञा दिन मिल्दैन।

बुँदा नं ४८: ख्रीष्टियानहरूलाई सिकाइनुपर्दछ कि पोपले पापमोचन पत्र दिने बेला उसलाई तिनीहरूको पैसाभन्दा पनि साँचो प्रार्थना चाहिन्छ।

बुँदा नं ४९: ख्रीष्टियानहरूलाई सिकाइनुपर्दछ कि पापमोचन पत्र यस्तो बेलामा मात्र काम लाग्छ जसले त्यसमाथि विश्वास गर्दैन तर तिनीहरूले परमेश्वरको डर गुमाएको खण्डमा यो हानिकारक हुन्छ।

बुँदा नं ५०: ख्रीष्टियानहरूलाई सिकाइनुपर्दछ कि पापमोचन पत्रसम्बन्धी प्रचार गर्ने प्रचारकहरूको वास्तविकता बारे पोपले थाहा पाएको भए आफ्ना भेडाहरूका छाला, मासु र हड्डीहरूबाट सेन्ट पिटर मण्डली भवन बनाउनुको साटो खरानी हुने गरी जलाउने थियो।

बुँदा नं ५१: ख्रीष्टियानहरूलाई सिकाइनुपर्दछ कि मृतकहरूलाई स्वर्ग पु¥याउने पापमोचन पत्र बेच्ने दलालहरूबाट पैसा ठगेको कारण सेन्ट पिटर मण्डली भवन नै बेचेर भए पनि पोपले उसको आफ्नै पैसाबाट पनि फिर्ता गर्ने इच्छा देखाउनुपर्छ।

बुँदा नं ५२: पापमोचन पत्र बेच्ने दलालहरू र पोपले आफ्नै आत्माको जमानी राखेछ भने पनि पापमोचन पत्र किनेर मुक्ति पाएको विश्वास गर्नु व्यर्थ छ।

बुँदा नं ५३: मानिसहरूलाई पापमोचन पत्र बेच्ने नियतले कतिपय मण्डलीहरूमा परमेश्वरको वचनलाई प्रचार गर्न निषेध गर्नेहरू ख्रीष्ट र पोपका शत्रुहरू हुन्।

बुँदा नं ५४: परमेश्वरको वचनलाई भन्दा पनि उतिकै वा अझ लामो समयसम्म पापमोचन पत्र बारे प्रचार गर्नुचाहिँ वचनको विरुद्ध चोट पुर्याउनु हो।

बुँदा नं ५५: पापमोचन पत्र किन्नुजस्तो अति नै काम नलाग्ने थोकलाई मण्डलीमा एक पटक घण्टी बजाएर, नारा लगाएर र समारोह आयोजना गरेर उत्सव मनाइनुचाहिँ निश्चय नै पोपको व्यक्तिगत मनोभावनाको कुरो हो भने सुसमाचारजस्तो महान् थोकको लागि सय पटक घण्टी बजाएर, सय पटक नारा लगाएर र सय वटा समारोह गरेर यसलाई प्रचार गरिनुपर्दछ।

बुँदा नं ५६: पापमोचन पत्र बेचेर पोपले कमाएको रकमसहित मण्डलीको साँचो सम्पत्तिको विवरण ख्रीष्टका जनहरूबीच प्रशस्त छलफल र जानकारी गरिँदैन।

बुँदा नं ५७: पापमोचन पत्र आफै पनि अस्थायी सम्पत्तिसमेत होइन भन्ने कुरो स्पष्ट छ किनभने पापमोचन पत्र बेच्नेहरूले ती सित्तैँमा बाँड्दैनन्, उनीहरूले यसबाट रकम मात्र जम्मा गर्छन्।

बुँदा नं ५८: पापमोचन पत्रहरू ख्रीष्ट र सन्तहरूका अनुग्रह होइनन्, किनकि पोपविना पनि, ख्रीष्टले सधैं भित्री मनुष्यत्वमा अनुग्रहको काम गर्नुहुन्छ भने क्रूस, मृत्यु र नरकले बाहिरी मनुष्यत्वको निम्ति काम गर्दछन्।

बुँदा नं ५९: सेन्ट लारेन्सले भनेका थिए कि मण्डलीका गरीबहरू नै सम्पत्ति हुन्, तर उनले आफ्नो जमानामा चलेकै बोली प्रयोग गरेर यस बारे भनेका थिए।

बुँदा नं ६०: यसमा धेरै ध्यान नदिएर पनि हामी भन्छौं कि ख्रीष्टको अनुग्रहद्वारा दिइएका गरीबहरू नै मण्डलीका चाबीहरू र सम्पत्ति हुन्।

बुँदा नं ६१: यो कुरो स्पष्ट छ कि दण्ड मेटाउन र आफैले लगाएका मुद्दाहरू हटाउन सक्ने शक्ति पोपसँग पर्याप्त छ।

बुँदा नं ६२: मण्डलीको साँचो सम्पत्ति परमेश्वरको महिमा र अनुग्रहको अति पवित्र सुसमाचार हो।

बुँदा नं ६३: तर यो सम्पत्ति स्वाभाविक रूपमा उति रुचिलाग्दो छैन किनकि यसले पहिलोलाई पछिल्लो बनाइदिन्छ (मत्ती २०:१६)।

बुँदा नं ६४: तर पापमोचन पत्रको सम्पत्तिचाहिँ स्वाभाविक रूपमा औधी रुचिलाग्दो छ किनकि यसले पछिल्लोलाई पहिलो बनाइदिन्छ।

बुँदा नं ६५: त्यसकारण सुसमाचारको सम्पत्ति त्यस्ता जालहरू हुन् जसले मानिसहरू सम्पत्ति हुनको लागि पक्रिसकेको छ।

बुँदा नं ६६: त्यसको उल्टो, पापमोचन पत्र त्यस्ता जालहरू हुन् जसले मानिसको सम्पत्ति अहिले पक्रन्छ।

बुँदा नं ६७: महान् अनुग्रहको रूपमा पूजाहारीहरूले खुब प्रशंसा गर्ने पापमोचन पत्रचाहिँ आफ्नो फाइदालाई बढाउने तरिकाहरू मात्र हुन्।

बुँदा नं ६८: परमेश्वरको अनुग्रह र क्रूसको भक्तिको तुलनामा यी तरिकाहरू अति तुच्छ छन्।

बुँदा नं ६९: पोपले बेच्ने पापमोचन पत्रका दलालहरूप्रति झुक्न बिशपहरू र मण्डलीका अन्य अधिकारीहरू बाध्य छन्।

बुँदा नं ७०: तर तिनीहरूले आफ्ना आँखा र कान चनाखो राख्नुपर्नेछ, नत्र ती दलालहरूले पोपको आज्ञाको साटो आफ्नै सिद्धान्त प्रचार गर्नेछन्।

बुँदा नं ७१: पोपद्वारा लादिएको पापमोचन पत्रको वास्तविकताविरुद्ध बोल्ने अधर्मी र श्रापित होस्।

बुँदा नं ७२: तर पापमोचन पत्रको प्रचार गर्ने प्रचारकहरूका अभिलाषा तथा भ्रष्टचारदेखि आफूलाई सुरक्षित राख्न चाहन्छन् भने उनी धन्यका हुन्।

बुँदा नं ७३: जसरी पापमोचन पत्र बिक्री गर्न बाधा ल्याउनेविरुद्ध पोप क्रोधित भएको ठीकै हो।

बुँदा नं ७४: त्योभन्दा पनि बढी पापमोचन पत्रलाई बहाना बनाएर पवित्र प्रेम र सत्यतामा बाधा ल्याउनेविरुद्ध क्रोधित हुनु आवश्यक छ।

बुँदा नं ७५: क्षमा हुन असम्भव एउटा घोर अपराधी पनि पोपहरूले बेच्ने पापमोचन पत्रद्वारा पापमुक्त हुन्छ भन्नु पागलपना हो।

बुँदा नं ७६: दोषको सम्बन्धमा हामीचाहिँ अझ यसो भन्छौं कि पोपहरूले बेच्ने पापमोचन पत्रले अति नै सानोभन्दा सानो पापको दोषलाई पनि हटाउन सक्दैन।

बुँदा नं ७७: अहिले पत्रुस नै पोप भएको भए पनि हामीलाई आशिष् दिन सक्दैन भन्नुचाहिँ पत्रुस र पोपको विरुद्ध निन्दा हो।

बुँदा नं ७८: बरु हामी यसो भन्छौं कि वर्तमान पोप वा अन्य जोसुकै पोप भए पनि उसले आफ्नो निगाहबाट दिनसक्ने अनुग्रह (आशिष्) चाहिँ १को १२:२८अनुसार सुसमाचार, आत्मिक शक्ति, चङ्गाइ गर्ने वरदान हुन।

बुँदा नं ७९: पोपहरूको कोटको बाहुलामा सिलाइएको क्रूस र पापमोचन पत्र बेच्ने प्रचारकहरूले लाउने क्रूस ख्रीष्टको क्रूससमान छ भन्नु ईश्वरनिन्दा हो।

बुँदा नं ८०: यस्ता कुराहरू मानिसहरूको बीचमा फैल्याउन अनुमति दिने बिशपहरू, अन्य अधिकारीहरू र ईश्वरशास्त्रीहरू आफै जिम्मेवार हुनुपर्नेछ।     

बुँदा नं ८१: पापमोचन पत्रको बारेमा गरिने यो भ्रष्ट प्रचारले गर्दा पोपले पाउनु पर्ने आदरलाई कुनै बुद्धिमान् मानिसले पनि साधारण मानिसको गाली र टीका–टिप्पणीहरूबाट जोगाउन सक्नेछैन।

बुँदा नं ८२: जस्तै, एउटा मण्डली भवन नै खडा गर्न सकिने पैसा उठाएर असङ्ख्य आत्माहरूलाई छुटकारा दिनसक्ने हैसियत भएको पोपले पवित्र प्रेमको खातिर र आत्माहरूको अत्यन्त खाँचो पूरा गर्न पर्गटरीलाई किन रित्तो पार्न सक्दैन? प्रेमको खातिर यसो गर्नु औधी जायज कुरो हो भने मण्डली निर्माण गर्ने कुरो उति महत्त्वपूर्ण होइन।

बुँदा नं ८३: फेरि, “मृतकहरूको लागि गरिने कर्मकाण्ड र वार्षिक स्मरण सभाहरू किन राखिन्छ र ती मृतकहरूको नाउँमा खडा गरिएका रकम–कोषहरू किन फिर्ता गर्न वा झिक्न अनुमति दिइँदैन किनभने मुक्ति पाइसकेकाहरूले छुटकारा पाऊन् भनेर प्रार्थना गर्नु अर्थहीन छ?”

बुँदा नं ८४: फेरि, “परमेश्वरप्रतिको भक्तिको के अर्थ छ र, जब कि पोपले पैसाको खातिर एउटा दुष्ट मानिस र शत्रुलाई समेत परमेश्वरको प्रिय मित्रको आत्मालाई पर्गटरीबाट पार गर्न पापमोचन पत्र किन्न बाध्य पारिन्छ, पैसाको आधारमा नभएर प्रेमको आधारमा यस्तो काम किन गरिँदैन?

बुँदा नं ८५: फेरि, “धेरै लामो समयदेखि नै खारेज र अन्त भइसकेका दण्डाज्ञाहरू अभैm पनि जीवित र सक्रिय रहेको भ्रममा पारेर मानिसहरूलाई मुक्तिको लागि पापमोचन पत्र किन बेचिन्छ?”

बुँदा नं ८६: फेरि, (रोमी इतिहासका सबैभन्दा धनी) ‘‘क्रस्सस्भन्दा पनि अझ धनी पोपले गरीबहरूको पैसाको साटो आफ्नै पैसाले सेन्ट पिटरको विशाल मण्डली भवन किन निर्माण गर्दैन?”

बुँदा नं ८७: फेरि, “सिद्ध विधिबाट पहिला नै पूर्ण रूपमा पापको दोष मेटाइएका वा आशिष्हरू पाएका विश्वासीको कुनचाहिँ पापलाई पोपले पखालेर स्वतन्त्रता दिन्छ?”

बुँदा नं ८८: फेरि पनि, “आखिर पोपले एक पटक क्षमा दिएर पनि हुने रहेछ भने, उसले हरेक विश्वासीलाई एकै दिनमा सैयौं पटक क्षमा र आशिष् दिँदा मण्डलीमा त्योभन्दा झन् ठूलो आशिष् कति आउँथ्यो होला?”

बुँदा नं ८९: “पापमोचन पत्र बेचेर पोपले क्षमापत्रबाट पैसाभन्दा पनि आत्माहरूले साँच्चै मुक्ति पाएको चाहन्छ भने उसले किन पापमोचन पत्रलाई जोगाइराख्छ र पहिले नै प्राप्त भइसकेको क्षमा फेरि किन दिनुपर्छ जब कि यी दुवैको प्रभावकारिता उस्तै हो?

बुँदा नं ९०: मण्डलीका सेवकहरूको यी चर्को विवादहरूलाई उचित कारणहरू पेस गरेर समाधान गर्नुको साटो यसलाई दबाउनुचाहिँ मण्डली र पोपलाई शत्रुहरूको सामू खुला तमासा देखाउनु हो र ख्रीष्टियानहरूलाई बेखुसी पार्नु हो।    

बुँदा नं ९१: यसकारण पोपको व्यक्तिगत इच्छा र अभिप्रायअनुसार पापमोचन पत्रको प्रचार गरिएको भए यस्ता शङ्काहरू हटेर जानेथिए। वास्तवमा यस्ता शङ्काहरू उठ्ने नै थिएनन्।

बुँदा नं ९२: यसकारण त्यस्ता अगमवक्ताहरूदेखि टाढा बस्नू जसले ख्रीष्टका जनहरूलाई भन्दछन्, “शान्ति, शान्ति”, तर त्यहाँ शान्ति हुँदैन (यर्मिया ६:१४)!

बुँदा नं ९३: ती अगमवक्ताहरू धन्य हुन् जसले ख्रीष्टका जनहरूलाई भन्दछन्, “क्रूस, क्रूस” र त्यहाँ क्रूस हुँदैन!

बुँदा नं ९४: दण्डहरू, मृत्यु र नरकद्वारा ख्रीष्टियानहरूलाई आफ्ना शिर, ख्रीष्टलाई पछ्याउनको लागि अर्ती दिइनुपर्छ।

बुँदा नं ९५: जसकारण गलत शान्तिबाट सुरक्षित रहनुभन्दा धेरै कष्टहरूको माध्यमबाट स्वर्गमा प्रवेश गर्नको लागि ढुक्क रहनुहोस् (प्रेरित १४:२२)।

निष्कर्ष

मण्डलीको सुधार ख्रीष्टको दोस्रो आगमन नहुँदासम्म चलिरहन्छ, जसकारण हामी मार्टिन लुथरभन्दा पनि अझ सशक्त सुधारक बन्न सक्छौँ।

RELATED ARTICLES

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments